समाचार
राप्तीमा मानव स्वास्थ्य को अवस्थाबारे समिक्षा ः स्वास्थ्य संस्थालाई थप सशक्त्त बनाउदै लैजानेमा जोड
राप्तीमा मानव स्वास्थ्य को अवस्थाबारे समिक्षा ः स्वास्थ्य संस्थालाई थप सशक्त्त बनाउदै लैजानेमा जोड
तिर्थराज ज्ञवाली
२३ असोज, मसुरीया(दाङ)
राप्ती गाउँपालिका स्वास्थ्य सेवा शाखाको गत आर्थिक वर्ष २०७४।७५ को बार्षिक समिक्षा कार्यक्रम मंगलवार मसुरीयामा सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका क्षेत्रभित्र मानव स्वास्थ्यको अवस्था र स्वास्थ्य रक्षाका लागि स्वास्थ्य संस्थाले गर्दै आएका कार्यको वारेमा समिक्षा गरिएको छ साथै स्वास्थ्य संस्थाहरुलाई थप सशक्त्त बनाउदै लैजानेमा जोड दिईएको छ ।
राप्ती गाउँपालिकाका क्षेत्रमा रहेका २ वटा स्वास्थ्य चौकी, ३ वटा स्वास्थ्य इकाई वाट दिईने सेवा सुविधा के कस्तो भयो तथा राम्रो पक्ष र सुधार पक्षको वारेमा समिक्षा गरिएको छ ।
कार्यक्रममा गत आर्थिक वर्ष राप्ती गाउँपालिकाका सरकारी स्वास्थ्य संस्थामा २३ हजार ८ सय ५३ जनाले सेवा लिएको, नियमित खोप कार्यक्रममा वि.सी.जि.,पि.सी.भि.३, आई.पि.भि.,डि.पि.टी.३, दादुरा, जे.ई.तथा टि.डि २।२ जस्ता खोप कार्यक्रममा राम्रो सफलता प्राप्त गरेको, आमा सुरक्षा कार्यक्रम अन्तरगत प्रथम पटक गर्भ जाँच,चार पटक गर्भ जाँच, संस्थामा प्रसुति भएको संख्या, गर्भवति उत्प्रेरणा पाएको संख्या, यातायात खर्च पाएको संख्या प्रशंसनिय रहेको पाईएको छ ।
कार्यक्रममा राप्ती गाउँपालिकाका सरकारी स्वास्थ्य संस्थावाट परिवार नियोजन कार्यक्रम अन्तरगत कण्डक वितरण, पिल्स नयाँ, डिपो, आईयुसिडि सेवा, ईम्प्लान्ट, सिपी आर लगाएतका सेवा दिईदै आएको जानकारी गरिएको छ ।
सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ट आथित्यतामा भएको समिक्षा कार्यक्रममा स्वास्थ्य चौकी सिसहनियाका ज्ञान कुमार बसेल, स्वास्थ्य चौकी लालमटियाका झवीलाल कडेल, सामुदायीक स्वास्थ्य इकाइ देविकोटका प्रमुख यज्ञ बहाद्र कार्की, सामुदायीक स्वास्थ्य इकाई मौरिघाटका प्रमुख चेतन पोख्रेल, सामुदायीक स्वास्थ्य इकाई पत्थरगढवाकी प्रमुख चन्द्रा चौधरीले स्वास्थ्य संस्थाले गत वर्ष को प्रतिवेदन पेश गर्नुभएको थियो ।
बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य शाखा राप्ती गाउंपालिका मार्फत ३ वटा सामुदायीक स्वास्थ्य इकाई स्थापना भई संचालनमा रहेको । सबै खोप कभरेज ८० प्रतिशत भन्दा बढी रहेको । क्षयरोग नियन्त्रण कार्यक्रम अन्तरगत केश फाइन्डिङ र खकार जांच शत प्रतिशत प्रगति भएको । परिवार नियोजन कार्यक्रम तर्फ सि.पि.आर.४० प्रतिशत रहेको जानकारी गरिएको छ ।
कार्यक्रममा सहभागीहरुले राप्ती गाउँपालिका भित्रको स्वास्थ्यको अवस्थालाई थप प्रभाबकारी बनाउन आमा सुरक्षा कार्यक्रम तर्फ सिसहनिया स्वास्थ्य चौकीमा संस्थागत प्रसुति संख्या घड्दो क्रममा रहेकाले कारण पत्ता लगाई बढाउनु पर्ने । परिवार नियोजन कार्यक्रम तर्फ सि.पि.आर.गत वर्षको तुलनामा कम भएको । लालमटिया स्वास्थ्य चौकीमा जिम्मेवारी तोकिए बमोजिम लक्ष्य अनुसार प्रगति गर्न जिम्मेवार हुनुपर्ने । सिसहनिया स्वास्थ्य चौकीमा सेवाग्राहीको चाप अनुसार सेवा प्रदायक को व्यवस्था हुनुपर्ने । सिसहनिया स्वास्थ्य चौकी व्यवस्थापन समिति र स्टाफ मिटिङ नियमित गर्नुपर्ने । अधिकांश कार्यक्रमहरुको प्रगति सन्तोस जनक रहेतापनि गत बर्षको तुलनामा लक्ष्य अनुसार प्रगति गर्न थप प्रयास गर्नुपर्ने सल्लाह सुझाव दिईएको राप्ती गाउँपालिका स्वास्थ्य सेवा शाखा संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।