FAQs Complain Problems

राप्तीका तीनवटा वडा एकैसाथ शून्य होम डेलिभरी घोषणा ।

तुलबहादुर कँवर मगर
भालुबाङ । राप्ती गाउँपालिकाका तीनवटा वडाहरुलाई एकैसाथ शून्य होम डेलिभरी वडा घोषणा गरिएको छ ।

शनिबार गाउँपालिकाको कार्यालय मसुरियामा एक कार्यक्रम आयोजना गरी वडा नम्बर ४, ७ र ८ लाई शून्य होम डेलिभरी अर्थात् संस्थागत सुत्केरी सुनिश्चित वडा घोषणा गरिएको हो । चालु आर्थिक वर्षमा उक्त वडाका तीन सय ५९ जना गर्भवती महिलाहरुमध्ये सबैले स्वास्थ्य संस्थामै सुत्केरी गराएपछि शून्य होम डेलीभरी वडा घोषणा गरिएको हो । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओली र स्वास्थ्य शाखा प्रमुख नारायण राउतले उक्त वडामा सञ्चालित आधारभूत स्वास्थ्य इकाईहरुलाई शून्य होम डेलिभरी वडाको प्रमाणपत्र प्रदान गर्नुभयो ।

राप्ती गाउँपालिका वडा नं. ७ का अध्यक्ष सीताराम चौधरीको अध्यक्षता एवं गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले परम्परागतरूपमा घरमै सुत्केरी हुँदा आमा र शिशु दुबै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो रुपमा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने बताउनुभयो ।

पालिकाले स्वास्थ्य क्षेत्रमा विगतका वर्षहरुदेखि नै जिल्लामै लगातार उत्कृष्ट कार्य गरिरहेको बताउँदै उपाध्यक्ष चौधरीले यस कार्यमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकालाई धन्यवाद दिनुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीले आगामी दिनमा पालिकालाई नै शून्य होम डेलीभरी पालिका घोषणा गर्ने लक्ष्य रहेकाले सबै पक्ष थप समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिलाहरु जानकार बनेपछि उनीहरू सुत्केरी हुन स्वास्थ्यचौकीमै पुग्न थालेको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताउनुभयो ।

त्यस्तै उहाँले महिलाले स्वास्थ्य संस्थामै नियमित स्वास्थ्य जाँच गर्ने र प्रसूति सेवा लिने भएकाले मातृशिशु मृत्युदर समेत घटेको बताउनुभयो । यसअघि नै गाउँपालिकाको वडा नं. ६ लाई लुम्बिनी प्रदेशकै पहिलो वडाको रुपमा शून्य होम डेलिभरी वडा घोषणा गरिसकेको छ ।

आर्थिक वर्ष: