समाचार
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ ।
सिसहनियाँ १२,माघ।
सिसहनियाँ स्वास्थ्य चौकीको स्तरबृद्धि भएर राप्ती आधारभूत अस्पताल बनेको छ । एक स्थानीय तह एक आधारभूत अस्पतालको अवधारणाअन्तर्गत निर्माण शुरु भएको १५ शैøयाको राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ भएको हो ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राप्ती गाउँपालिकामा निर्माण भएको राप्ती आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको छ । २१ करोड ६९ लाखको लागतमा वि.सं. २०७८ सालबाट निर्माण शुरु भएको अस्पतालको निर्माण कार्य २०८० मा सम्पन्न भएको थियो । शल्यक्रिया कक्षसहित भर्ना तथा बहिरङ्ग सेवा, इमरजेन्सी सेवा दिन थालिएको छ । अस्पतालबाट एमडिजिपी डाक्टर र मेडिकल अधिकृतले विशेषज्ञ स्वास्थ्य सेवा दिने गरेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताउनुभयो । ‘पहिला स्वास्थ्य चौकी थियो । उतिबेला बिरामी भर्ना गरेर उपचार गर्ने अधिकार प्राप्त थिएन । अहिले अस्पतालमा बिरामी भर्ना गरेर उपचार सेवा दिन थालिएको छ’– उहाँले भन्नुभयो– ‘पहिला सानो आकारमा थियो, क्षेत्राधिकार खुम्चिएको अवस्थामा थियो भने अहिले अस्पताल बनेपछि क्षेत्राधिकार बढेको छ ।’
लिफ्टसहित सुविधासम्पन्न अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताउनुभयो । ‘नागरिकले पाउने आधारभूत स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेका छौं । यहाँबाट नागरिकहरुले स्वास्थ्य लाभ पाउनुहुनेछ’– उहाँले भन्नुभयो– ‘उपचार सेवालाई नागरिकको पहुँचमा पु¥याउने हाम्रो अभियानले सार्थकता पाउँदै गएको छ ।’
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालको उद्घाटन गर्दै नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुगेको बताउनुभयो । यस्तै उहाँले आफु सरकारमा रहदा वा प्रतिपक्षमा बस्दा पनि नागरिकको अधिकारकालागि संघर्ष गरिररहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७७ साल मंसिर १५ गते देशभर ३९६ आधारभुत अस्पतालको शिलान्यास गर्नुभएको थियो । उतिबेला शिलान्यास भएको अस्पतालमध्ये राप्ती गाउँपालिकामा १५ वेडको अस्पताल बनेको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, प्रदेशसभा सदस्य इन्द्रजीत थारु, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललगायतले सम्बोधन गर्दै नागरिकलाई स्वास्थ्य सेवा पु¥याउन गाउँपालिकाले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
उपाध्यक्ष कमलापती चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली र बासुदेव खनालले संयुक्तरुपमा गर्नुभएको थियो । कार्यक्रममा अस्पताल निर्माण सम्पन्न गर्न भूमिका खेल्ने निर्माण व्यवसायी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, इञ्जिनियर अशोक बेलवासेलगायत स्वास्थ्य तथा इञ्जिनियरिङ शाखाका अन्य कर्मचारीसमेत सम्मानित हुनुभएको थियो ।