समाचार
राप्ती गाउँपालिका र भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम ।
चितवन, १४ माघ।
दाङको राप्ती गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बीच औपचारिक रूपमा भगिनी सम्बन्ध कायम भएको छ। भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सोमबार भगिनी सम्बन्धसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ बमोजिम साझेदारीका क्षेत्रमा सहकार्य गर्दै दुई पालिकाबीच दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध कायम गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले जानकारी दिनुभयो।
दुवै पालिकाबीचका प्रमुखहरूले हस्ताक्षर गर्नुभएको ९ बुँदे समझदारी पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, संस्कृति संरक्षण, संयुक्त उद्यमशीलता प्रवर्द्धन, भौतिक तथा आर्थिक सहकार्यलगायत विभिन्न क्षेत्रको अनुभव र असल अभ्यास आदानप्रदान गर्ने लक्ष्य राखिएको छ।
समझदारी अनुसार, दुवै पालिकाले आफ्नो क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको स्थानीयस्तरमा प्रचार-प्रसार गर्ने, मौलिक कृषि उपजको आपसी बजारीकरणलाई प्रवर्द्धन गर्ने, उद्यमशीलता विकासमार्फत आम्दानी वृद्धिलाई प्रभावकारी बनाउने तथा दिगो विकासका क्षेत्रमा सहकार्य गर्ने सहमति गरिएको छ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भगिनी सम्बन्धले दुई पालिकाबीच सशक्त सहकार्यको वातावरण निर्माण हुने साथै उहाँका अनुसार, यस सहकार्यले दुबै क्षेत्रका जनताको जीवनस्तर उकास्न र विकासको नयाँ सम्भावनाहरू खोल्न महत्वपूर्ण योगदान दिनेछ भन्ने बताउनुभयो।।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यस समझदारीलाई राप्तीको विकास र सम्भावनालाई उजागर गर्न महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्नुभयो। उहाँले भरतपुर महानगरको विकास अनुभव र सफल अभ्यासहरू राप्तीमा लागू गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्दै यो सम्बन्धले दुवै पालिकाका जनताबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो।
दुवै पालिकाका प्रतिनिधिहरूले भगिनी सम्बन्धको अवसरलाई सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटकीय विकासको दिशामा अघि बढाउन प्रतिबद्ध रहेको धारणा राख्नुभएको छ।